काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमाले मिल्न नदिन व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिएको बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने प्रयास असफल बनाउन एमसीसी अनुमोदनमा सहभागी भएको उल्लेख छ।
‘पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका १४ जना सांसदलाई कारवाही गर्नेगरी नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन गर्ने थिए। त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसदलाई कारवाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्दथे। हामीले वैकल्पिक बाटो रोजेर ती सवै खतरालाई टारेका छौं,’ प्रतिवेदनमा भनिएको छ।
पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग फिर्ता लिनेगरी एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने प्रयास भएपछि पाँच दलीय गठबन्धनमा संलग्न दलहरू वैकल्पिक निकासको खोजीमा लागेको प्रतिवेदनमा उल्लेख छ।
‘त्यसै क्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो। त्यस धारणामा हामी पनि आधारभूत रूपमा सहमत भयौं। फागुन १५ मा बसेको हाम्रो पार्टी स्थायी कमिटीको बैठकले हामीले उठाएका ११ बुँदाको सम्बोधन हुने र यदि व्याख्यात्मक घोषणाअनुरूप नभएमा ३० दिनको सूचना दिएर सम्झौता खारेज गर्न सकिने समेतको व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गर्न सकिने निर्णयमा गयौं।’