कपिलवस्तु : कपिलवस्तुसहित १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि कपिलवस्तुसहित झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।
कपिलवस्तुमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सो रोगको विरुद्ध औषधी सेवन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । स्वास्थ्य कार्यालय, कपिलवस्तु नगरपालिका, फेयरमेड र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजनमा तौलिहवामा राखिएको हात्तीपाइलेविरुद्ध औाषधी सेवन शुभारम्भ कार्यक्रमा मन्त्री यादवले औषधि सेवन गर्दै अभियानलाई सफल बनाउने सबैको जिम्मेवारी रहेको बताए । १३ वर्ष चलाइएको अभियान पछि पनि हात्तीपाइले अझैसम्म निवारण नहुनु दुःखको कुरा भएको उनले बताए । उनले सबै मिलेर हात्तीपाइले रोगविरुद्ध औषधि खाएर अभियानलाई सार्थक बनाउनु पर्ने उनले बताए ।
कार्यक्रममा प्रदेश सदस्य बिष्णु पन्थी, जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्रालाय तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्ट विकास देवकोटा, निर्देशक बिनोद कुमार गिरी, प्रजिअ चक्रपाणी पाण्डेय, उप मेयर लक्ष्मी गुप्ता साउलगायतको टोलीले औषधि सेवन गर्दै अभियान सफल बनाउन आग्रह गरे । सो अवसरमा प्रदेश सदस्य बिष्णु पन्थीले अभियानलाई जसरी पनि सफल बनाउनु पर्ने बताए । मन्त्रालयका सचिव देवकोटाले नागरिकहरुलाई राम्रोसंग बुझाउन जरुरी रहेको बताए । १३ औ चरण पुरा गरे पनि हात्तीपाइलेको जीवणु अझै फेला पारेपछि अभियान संचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । दुई महिना अघि कपिलवस्तुको महाराजगंज र कृष्णनगर नगरपालिका गरी ७ सय ५५ जनामा गरिएको नमुना परिक्षण पछि करिब साढे ८ प्रतिशतमा हात्तीपाइलेका जीवाणु फेला परेको थियो ।
सो अवसरमा कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले अहिलेको औषधि पूर्णतया सुरक्षित त रहेकोले ढुक्कसंग सेवन गर्न आग्रह गरे । स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसियाले अभियानमा २ वर्ष माथीका ६ लाख २० हजार ४९१ जनालाई औषधि खुवाइने अनुमान गरिएको छ । अभियानमा ६ सय ११ जना स्वास्थयकर्मी र १ हजार ५०५ जना महिला स्वयमसेविका परिचालन गरिएको छ ।
यता वाणगंगा नगरपालिकाका ११ वटै वडाबाट आज ९ हजार १ सय ३२ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । उहाँले कोभिड विरुद्धको खोप लगाउन छुटेका नागरिकलाई पनि घरघरमा पुगेर खोप लगाईने समेत बताउनुभयो ।







