गृहपृष्ठ Featured वीरगञ्जका मेयर सरावगीको दाबी—पार्टीले दुर्व्यवहार गरेपछि एमाले रोजेँ

वीरगञ्जका मेयर सरावगीको दाबी—पार्टीले दुर्व्यवहार गरेपछि एमाले रोजेँ

प्रकाशित मिति:

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपामा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जसपालाई महानगरमा जिताए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका हुन् ।

विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । आफुलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले नयाँ पार्टी रोज्नुपरेको उनको दाबी छ ।

उनले भने, ‘पूर्णरुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले राख्नुपथ्र्यो । किनभने, म त राजनीतिक पृष्ठभुमिबाट आएको थिइनँ । म आर्थिक र सामाजिक पृष्ठभुमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपथ्र्यो, त्यो नभएका कारण मैले दुई पटक राजीनामा पनि दिएको थिएँ । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर, लगातार ममाथि दुव्र्यवहारहरू हुने, सामाजिक रुपमा मलाई जहिल्यैपनि एक प्रकारको मानमर्दन गर्ने कामहरू भए । त्यसकारण नयाँ पार्टी रोजेँ ।’

मेयर सरावगीले एमाले अध्यक्ष केपी ओलीको राष्ट्रिय भावना र विकासप्रतिको चाहानाबाट प्रेरित भएको पनि बताए । कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनले बताए । उनले भने, ‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा विकल्प थिए, एउटा कांग्रेस र अर्को एमाले । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँबाट जनप्रतिनिधि हुने अवस्था नबन्ने भयो । अब एमालेको मेयर हुँ म । र, आउने दिनमा पनि एमालेमार्फत नै अब मेरो आफ्नो भविष्यको राजनीतिक यात्रालाई अगाडि बढाउँछु ।’

उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको दाबी पनि गरे । उनले आगामी निर्वाचनमा पार्टीले टिकट दिए मेयर बन्न तयार रहेको पनि बताए ।

सम्बन्धित् समाचार