गृहपृष्ठ Featured वीरगञ्जका मेयर सरावगीको दाबी—पार्टीले दुर्व्यवहार गरेपछि एमाले रोजेँ

वीरगञ्जका मेयर सरावगीको दाबी—पार्टीले दुर्व्यवहार गरेपछि एमाले रोजेँ

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपामा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जसपालाई महानगरमा जिताए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका हुन् ।

विगतमा आफुले जसपा छोड्न दुई पटक राजीनामा दिए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । आफुलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले नयाँ पार्टी रोज्नुपरेको उनको दाबी छ ।

उनले भने, ‘पूर्णरुपमा यो महानगरपालिका र पुरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले राख्नुपथ्र्यो । किनभने, म त राजनीतिक पृष्ठभुमिबाट आएको थिइनँ । म आर्थिक र सामाजिक पृष्ठभुमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपथ्र्यो, त्यो नभएका कारण मैले दुई पटक राजीनामा पनि दिएको थिएँ । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिए पनि । तर, लगातार ममाथि दुव्र्यवहारहरू हुने, सामाजिक रुपमा मलाई जहिल्यैपनि एक प्रकारको मानमर्दन गर्ने कामहरू भए । त्यसकारण नयाँ पार्टी रोजेँ ।’

मेयर सरावगीले एमाले अध्यक्ष केपी ओलीको राष्ट्रिय भावना र विकासप्रतिको चाहानाबाट प्रेरित भएको पनि बताए । कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनले बताए । उनले भने, ‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा विकल्प थिए, एउटा कांग्रेस र अर्को एमाले । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँबाट जनप्रतिनिधि हुने अवस्था नबन्ने भयो । अब एमालेको मेयर हुँ म । र, आउने दिनमा पनि एमालेमार्फत नै अब मेरो आफ्नो भविष्यको राजनीतिक यात्रालाई अगाडि बढाउँछु ।’

उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको दाबी पनि गरे । उनले आगामी निर्वाचनमा पार्टीले टिकट दिए मेयर बन्न तयार रहेको पनि बताए ।

सम्बन्धित् समाचार