चीनका विदेशमन्त्री वाङ यी भारत भ्रमणमा पुगेका छन्। भ्रमणका क्रममा उनले शुक्रवार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
वाङ यीले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन्। त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेको अधिकारीहरूले जनाएका छन्।
दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोबारे छलफल गरेका थिए।
भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउनेबारे पनि उनीले छलफल गरेका जनाइएको छ।
विभिन्न देशको भ्रमण गर्ने क्रममा उनी बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका हुन्। यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री यी भारत आएका जनाइएको छ।