बुटवल : नेपाल कम्युनिष्ट पार्टी एमाले रूपन्देहीले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गैरकानूनी तरिकाले लालपुर्जा वितरण गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबार जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. २ करबलामा लालपुर्जा वितरण कार्यमा सरोकारभन्दा बाहिरका नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामकृष्ण खाणले लालपुर्जा वितरण गरेको भन्दै एमालेले आपत्ति जनाएको हो ।
एमालेले निर्वाचनलाई नै प्रभावित पार्ने गरी सरकारसँग सरोकार नभएका व्यक्तिबाट सरकारी कागजात वितरण हुनु कानूनविपरीत भएको दाबी गरेको छ । सरकारी ओहोदामा बसेको, जनप्रतिनिधि वा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले मात्र वितरण गर्न पाउने सरकारी कागजात राजनीतिक पार्टीका नेतालाई प्रयोग गरेर वितरण गरिएकोप्रति एमालेले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो ।
एमालेले रामकृष्ण खाण नेपाली कांग्रेसको सभापतिबाहेक अहिले कुनै सार्वजनिक पदमा नभएको समयमा सरकारी कार्यालयको कागजात वितरणमा संलग्न हुनु आपत्तिजनक रहेको बताएको छ ।








