पर्वत : कोभिड महामारीका कारण २०७६ चैतदेखि थला परेको पर्यटन व्यवसाय चलायमान हुन थालेसँगै कालीगण्डकीमा साहसिक खेलमध्येको जलयात्रा (र्याफ्टिङ) पनि सुरु भएको छ ।
विदेशी पर्यटक आउन छाडे पनि आन्तरिक पर्यटकलाई नै लिएर व्यवसायीले जलयात्रा थालेका हुन् । गर्मी सिजन सुरु भएसँगै केही सातादेखि आन्तरिक पर्यटकका लागि जलयात्रा सुरु गरेको व्यवसायीले बताए ।
असोजको पहिलो सातादेखि मंसिर र फागुनदेखि जेठसम्म हुने जलयात्रा गएका चार सिजन ठप्प भएको थियो । केही सातायता जलयात्राका लागि टिकट बुकिङ गर्ने क्रम सुरु भएपछि यो क्षेत्रमा लागेका व्यवासायी केही आशावादी भएका छन् ।








