काठमाडौं : राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले दाहाललाई शपथ खुवाएका हुन्।
शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए। अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए । शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा ।भरतराज गौतम लगायतको उपस्थिति थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन्। सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।








