गृहपृष्ठ Featured साढे ६ अर्बको टेण्डर प्रकरण : मुख्यमन्त्रीलाई चोख्याइयो, बनावटी प्रतिवेदन पेस गरेको आरोप

साढे ६ अर्बको टेण्डर प्रकरण : मुख्यमन्त्रीलाई चोख्याइयो, बनावटी प्रतिवेदन पेस गरेको आरोप

रुपन्देही : लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण टेण्डरमा भएको विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीको संलग्नता नभएको प्रतिवेदन छानविन समितिले बुझाएको छ।

छानविन समितिमा प्रदेश सरकारका मुख्यन्यायधिवक्ता श्रीकृष्ण सुवेदी, सचिव राजेन्द्र थापा र महेशचन्द्र न्यौपाने रहेका थिए। समितिले बोलपत्र आह्वानअघि भएको विभिन्न निर्णय र प्रक्रियाका आधारमा प्रतिवेदन दिएको छ।

यद्यपि छानविन समितिमा प्राधिकरणकै समितिका सदस्य राखिएको भन्दै प्रतिवेदनलाई प्रायोजित भनिएको छ। प्रतिपक्षी दल नेकपा एमालेले बनावटी प्रतिवेदनले मुख्यमन्त्रीलाई चोख्याएको जनाएको छ।

सो प्रतिवेदनले मुख्यमन्त्रीले बोलपत्रको मापदण्ड, योग्यताका विषयमा कुनै निर्णय नगरेको जनाएको छ। कार्यकारी निर्देशकले बोर्ड बैठकमा पेस गर्ने भन्ने पत्र पठाएको तर त्यसमा मुख्यमन्त्रीले कुनै निर्णय नगरेको प्रतिवेदनमा जनाइएको छ।

तत्कालीन निर्देशक घिमिरेले मुख्यमन्त्रीको निश्चित ठेकेदारले टेण्डर गर्न पाउने गरी ठेक्का निकाल्न दवाव दिएको भन्दै राजीनामा दिएका थिए। सरकारले भने यसमा निर्देशक नै दोषी रहेको र कारबाही गर्नै लाग्दा राजीनामा दिएको बताउँदै आएको छ।

सम्बन्धित् समाचार