गृहपृष्ठ Featured गठबन्धनमा तिक्तता आउने गरी नबोल्न कांग्रेसको निर्देशन

गठबन्धनमा तिक्तता आउने गरी नबोल्न कांग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनमा तिक्तता आउने गरी बाहिर नबोल्न निर्देशन दिएका छन्। शनिवार केन्द्रीय कार्यसम्पादन समिति बैठकबारे ब्रिफिङ गर्दै प्रवक्ता महतले बाहिर बोलेर केही नहुने बताएका छन्।

महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख टुंगो लगाउन सानेपामा कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक जारी रहेको उल्लेख गर्दै उनले छलफलबाटै निष्कर्ष निकालिने बताए। ‘मिडियामा चिच्याएर फाइदा छैन। हामी बढी छौ भन्ने कुराले तिक्तता पैदा हुन्छ,’ प्रवक्ता महतले भने, ‘सम्बन्धित नेतृत्वलाई जिम्मेवारी दिएको छ। त्यहाँ पो बोल्नपर्‍यो।’

कांग्रेसमा विभिन्न स्थानीय निकायका नेता कार्यकर्ताले तालमेल गर्न नहुने सुझाव दिन थालेपछि कांग्रेसलाई तालमेल र उम्मेद्वारी टुंगो लगाउन सकस परेको छ। तालमेल गर्न नसकिने अवस्था भएको ठाउँमा केन्द्रलाई रिपोर्ट पठाउन महतले आग्रह गरे।

कांग्रेसले स्थानीय वस्तुस्थिति अनुसार समझदारी गर्नेसमेत उनले बताए। ६ महानगर र ११ उपमहानगरबाहेक अरु स्थानमा केन्द्रको कुनै निर्देशन नरहने उल्लेख गर्दै उनले एमालेलाई हराउन सक्ने ठाउँमा स्वस्थ्य प्रतिस्पर्धा हुन सक्ने बताए।

सम्बन्धित् समाचार