माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय निर्वाचन तोकिएको समयमा नै हुने बताएका छन्। सत्तागठबन्धनले निर्वाचन सार्न खोजेको भन्ने समाचारहरूमा सत्यता नरहेको भन्दै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन वैशाख ३० मा नै हुने स्पष्ट पारेका हुन्।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचन सर्दैन। यसबारे मिडियामा जति ९समाचार० आएका छन्, ती अनुमानकै भरमा आएका छन्। गठबन्धनमा निर्वाचन सार्ने खालका कुनै तर्क–वितर्क भएको छैन। निर्वाचन वैशाख ३० गते नै हुन्छ।’
गठबन्धन पूरै दृढताका साथ निर्वाचनको अन्तिम तयारीमा पुगेकाले निर्वाचन सर्ने कुनै सम्भावना नरहेको उनले बताए। ‘कम्तीमा सरकारको र सरकारमा रहेका कुनै पनि पार्टीहरूको निर्वाचन सार्ने मनसाय छैन। गठबन्धन पूर्ण रूपले निर्वाचनको तयारीमा होमिइसकेको छ,’ प्रचण्डले भने।








