सागर वि.क.(वैखरी अनलाईन) : सिद्धार्थ क्याम्पसमा नव आगन्तुक विधार्थीहरुलाई स्वागत एवम् शैक्षिक क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम क्याम्पसको सभाहलमा स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा सम्पन्न भएको हो । लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालले क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुमा छात्राहरुको सहभागिता उल्लेख्य मात्रा बढ्दै गएको भन्दै खुशी व्यक्त गर्नुभयो । छोरीहरुलाई घरायसी काममा मात्र सिमित गर्नुपर्छ भन्ने परम्परागत मान्यतालाई तोड्न उहाँले आह्वान समेत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी राज्यमन्त्री नेपालले क्यु.ए.ए. प्राप्त सिद्धार्थ क्याम्पस कपिलवस्तु जिल्लाकै चिनारीका रुपमा विकास हुदैं गएको बताउनुभयो ।

उहाँले क्याम्पसका समस्या समाधान, थप विकास तथा व्यवस्थापनमा आफुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । क्याम्पस संचालक समिति अध्यक्ष झविलाल पोख्रेलले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै यस क्याम्पसको शैक्षिक गुणस्तर उच्च रहेको दाबी गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका अध्यक्ष पोख्रेलले हाल क्याम्पसमा रहेका विभिन्न सेवा सुविधा तथा अन्य विद्यार्थीका आवश्यकताका आधार थप विकास गर्दै जाने जिकीर गर्नुभयो । हरेक विधार्थीलाई नियमित अध्ययनको आवश्यकता औल्याउँदै उहाँले पुस्तक पढ्ने बानीको विकास गर्न आग्रह गर्नुभयो ।
क्याम्पसमा रहेका सम्पूर्ण समस्या समाधान गर्न आफुहरु प्रतिवद्ध रहेको बताउँदै उहाँले विद्यार्थीको हकहितको लागी विद्यार्थी राजनिति गर्न पनि आवश्यक रहेको बताउनुभयो । क्याम्पसमा खानेपानी, चमेना गृह, बसको भाडाँ व्यवस्थापन, ड्रेस, जग्गा व्यवस्थापन लगायतमा देखिएका समस्यालाई समाधान गर्न अब आफुहरुको ध्यान केन्द्रित हुने उहाँको भनाई छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पसका स्ववियु सभापति सुसिल खत्रीले क्याम्पसका समस्याहरुलाई उजागर गर्नुभएको थियो । आफुले क्याम्पससंगै विधार्थीको क्षेत्रमा धेरै उदाहरणीय कामहरु गरेको दाबी गर्दै सभापति खत्रीले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, हालका क्याम्पस प्रमुख खेमराज शर्मा, सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, परिक्षा शाखा प्रमुख युवराज पोख्रेल लगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो । स्ववियु सिद्धार्थ क्याम्पसका सचिव दिनेश चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम समेत समावेश गरिएको थियो ।







