काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएको छ। कांग्रेसबाट स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिले भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको हो। ‘सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत–साधनको दोहन गर्दैनौ, गर्न दिने छैनौं,’ कांग्रेसले आइतबार सार्वजनिक गरेको संकल्प पत्रमा भनिएको छ।
कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने संकल्प गरिएको छ। नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने जनाएको छ।
निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम नगर्ने घोषणापत्रमा उल्लेख छ।
कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन नगर्ने भनिएको छ। महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रुपमासमेत कुनै पनि अवस्थामा संलग्न नहुने भनिएको छ।








