काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी बुधबार एउटै कार्यक्रममा देखिए। सरकारले अधिकारीलाई निलम्बन गरे पछि दुवै जना एकै कार्यक्रममा पहिलोपटक देखिएका हुन्।
अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्माको अध्यक्षतामा भएको सम्पत्ति शुद्धिकरण निवारण अन्तर्गत राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकमा गभर्नर अधिकारी डेढ घण्टा बिताए। तर कार्यक्रममा अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबिच न बोलचाल भयो न त दुवैले एक अर्कालाई हेरे।
‘गभर्नर अधिकारीले एकपल्ट पनि मास्क खोल्नु भएन। चिया र बिस्कुट पनि नखाई डेढ घण्टा बिताउनुभयो,’ अर्थमन्त्रालयका एक कर्मचारीले भने, ‘अर्थमन्त्री शर्मा र गभर्नर सामान्य हार्दिकता समेत देखिएन।’
अधिकारीलाई बुधबारको कार्यक्रममा औपचारिक निम्तो दिइएको थियो।
सरकारले गभर्नर अधिकारीले ‘अर्थमन्त्रीलाई असहयोग’ नगरेको आरोपमा चैत २४ गते निलम्बन गरेको थियो। अधिकारीले सरकारको निर्णयको विरुद्ध सर्वोच्चको रिट दायर गरेका थिए। सर्वोच्चले अल्पकालिन आदेशदिँदै अधिकारीलाई पदीय जिम्मेवारीमा फर्किन आदेश दिएको थियो। त्यसयता उनी नियमति काममा गइरहेका छन्।
अर्थमन्त्रालयले बजेट सम्बन्धि छलफलमा औपचारिक रुपमा अधिकारीलाई हालसम्म बोलाएका छैनन्। जसकारण उनी छलफलका लागि गएका छैनन्।








