बसन्ता भुसाल (कपिलवस्तु) : सबै नेताकार्यकर्ता आफ्नै जितको सुनिश्चितता गर्दै घरदैलोमा पुगेर भोट मागे अरु समयमा सर नमस्कार भन्दा पनि नसुने जस्तो गर्नेहरु पनि यो समयमा आफै नमस्कार गर्दै हसिलो अनुहारमा घरघर पुगेको देखियो ।
ती दिन पनि अझै जीवितै छन् । जुन दिन हामीले सानो रोजगारी पनि गुमाएका थियौं ! जुन बेला हाम्रा आफन्त कोरोना लागेर अस्पतालमा छट्पट्टी रहदा पनि हामी त्यो अस्पताल सम्म पुग्ने अवस्था थिएन । कतिपयले भोग्नु पनि भयो आफ्नो मान्छे कोरोना लागेर मृत्युको मुखमा पुग्दा सम्म भेट्न मुस्किल थियो । कतिका आँखा रसाएका थिए । कयौं मान्छेहरु पैतल यात्रा गर्न बाध्य थिए ! हामीले देखेको अनि सुनेको पनि ! कतिपय नगरपालिकाका जनप्रतिनिधिले त अलपत्र परेका व्यक्तिलाई उद्धार पनि गरे ।
तर कतिपयले भने आँशुका ढिका खसाल्दै भोक भोकै हिडेका समाचार अनि तस्बिरहरु देखे पनि नदेखे जस्तै गरे ! सम्झनु भएकै होला एक पोका नुन किन्न नसकेर कति दिन भोकै बसेको ! अनि अलि अलि गरि खाने पेशा पनि गुमेको,अस्पतालमा कयौं मानिसको रुवाबासी,अनि त्यो महङ्गी,अक्सिजन नपाएको समय,आफ्ना मान्छेको लास छुन नपाएको पल, सम्झदा मुटु नै झसङ्ग हुन्छ । हिजोका दिनमा एककल फोन गर्दा नचिन्नेहरु आज आफै घरघरमा पुगेको देख्दा अचम्म लाग्छ । किसानका समस्या उस्तै,गरिबका समस्या उस्तै,विदेशिने युवाका समस्या पनि उस्तै,चुनाबको बेला मात्रै घरदैलोमा पुगेर के गर्नु ? जब खेती गरेर खान खोज्ने किसानहरुलाई समयमा मलको उपलब्धता छैन ! जसोतसो खेती गरे पनि छाडा पशु चौपायाले रातदिन सताउछन नोक्सान गर्दिन्छन । त्यसको कुनै प्रवाह सम्बन्धित निकायलाई छैन ।
गरिबहरु सधै आँशुमा डुब्नुपर्ने चुहिएको झुपडी अनि बिरामी पर्दा अस्पतालसम्म पुर्याउन नसक्ने अवस्था,पुर्याइहाले पनि बेड नपाउदाको पीडा ! न त विदेशीने युवाहरुको समस्या नै समाधान हुन सकेको छ , चाहाना नहुँदा नहुँदै पनि प्रदेश लाग्नु पर्ने बाध्यता,धेरै पढे पनि क्षमता अनुसारको रोजगारी नपाउदाको समस्या । आखिर के नै छ र हाम्रो देशमा देशको बिकास त भए होला नभएको भन्न मिल्दैन । तर पनि सबैलाई समान शिक्षा,स्वास्थ,रोजगारीको बिकास भने कमै देखिन्छ ।
त्यसैले तपाईं आफ्नो अमुल्य भोट कस्लाई दिनुहुन्छ अनि आफ्नो समस्या कसरी समाधान गर्न चाहनुहुन्छ भन्ने कुरा तपाईंको हातमा छ । भोलि गएर पछुतो मान्ने दिन न आओस् अहिलेको आश्वासन र भ्रम भन्दा पनि अघिल्ला दिनहरुमा भएका बिकासका कुरालाई मुल्यांकन गरेर अभिभावक चुन्न जरुरी हुन्छ ।