गृहपृष्ठ Featured एएफसी एसियन कप क्वालिफायर्समा जोर्डनसँग भिड्दै

एएफसी एसियन कप क्वालिफायर्समा जोर्डनसँग भिड्दै

प्रकाशित मिति:

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज नेपाल र जोर्डन आमनेसामने हुँदैछन्। कुवेतस्थित जबेर अल(अहमेद स्टेडियममा हुने खेलमा राति १ बजे यी टोली आमनेसामने हुनेछन्।

खेलअघि पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई कुनै दबाव नरहेको भन्दै उत्कृष्ट नतिजा ल्याउन चाहेको बताए।

‘नेपाली टिमलाई कुनै दबाव छैन। दबावरहित भएर खेल्न हामीलाई सहज हुनेछ। तर, टिमका रुपमा हामी केही गर्न चाहन्छौं। जोर्डनसँगको खेलमा उत्कृष्ट नतिजा ल्याउन चाहन्छौं,’ उनले भने, ‘हामीले जोर्डनको अस्ट्रेलिया, भारतसँगलगायतको खेल हेरेका छौं। त्यसैले उनीहरु हाम्रो लागि खुला पुस्तक जस्तै छन्। हामीलाई थाहा छ, उनीहरुले के गर्छन् र कसरी खेल्छन्। हामी उनीहरुलाई रोक्नेबारे सोच्नेछौं।’

पछिल्ला तीन खेलमा जोर्डनले अस्ट्रेलियासँग २-१ पराजय, भारतसँग २-० को जित तथा न्युजिल्याण्डमाथि ३-१ गोलअन्तरको जित निकालेको छ भने नेपालले पछिल्लो अभ्यास खेलमा ओमनसँग २-० को पराजय, टिमोर लेस्टेसँग २-२ को बराबरी तथा श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो। त्यसअघि थाइल्याण्डसँग २-० को पराजय ब्यहोरेको थियो।

जोर्डन र नेपाल यसअघि पनि विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणमा पनि आमनेसामने भएका थिए। जसमा दुवै खेलमा जोर्डनले नेपाललाई ३-० ले हराएको थियो। फिफा वरीयतामा जोर्डन ९१ औं स्थानमा छ भने नेपाल १६८ औं स्थानमा छ।

एसिया कपको छनोट तयारी सुरु नहुँदै खेलाडी प्रशिक्षक विवादमा गिजोलिएको नेपाली टोलीको नियमित सुरुवाती ११ मा देखिँदै आएका अधिकांश खेलाडीहरु अहिले टिममा छैनन्। प्रशिक्षणकै दौरानमा अलमुताइरीले नयाँ टिम बोलाएर प्रशिक्षण निरन्तरता दिएका थिए।

कतार उड्नुअघि नेपालमा रहेका विदेशी खेलाडीको टिमसँग पनि अभ्यास खेल खेलेको थियो। र, कतार पुगेर तीनवटा मैत्रीपूर्ण खेल खेल्यो। तर, नेपालले यहाँ हुँदा होस् या कतार पुगेर – सबै खेल क्लोज डुअरमा खेल्यो।

नेपाली टोलीमा कुनै चोट नरहेको र उच्‍च लयमा रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। नेपाली टोलीका नवनियुक्त कप्तान नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्ने प्रयास रहने बताए।

‘यसअघिको चरणमा उनीहरुले आफूलाई हामी भन्दा उत्कृष्ट टिम रहेको प्रमाणीत गरिसकेका छन्। हामी हाम्रो उत्कृष्ट दिनेछौं। हामी उत्कृष्ट प्रदर्शन गर्ने प्रयासमा हुनेछौं,’ श्रेष्ठले भने।

नेपाल एसिया कप छनोटको समूह ‘ए’ मा नेपालसहित इण्डोनेसिया, जोर्डन र कुवेत छन्। छनोटमा छ वटा समूह छन्। जसबाट हरेक समूहका शीर्ष १ टोली र दोस्रो स्थानमा रहने मध्येका उत्कृष्ट पाँच टोलीले एसिया कपमा स्थान बनाउनेछन्।

 

सम्बन्धित् समाचार