गृहपृष्ठ Featured कोरियाली प्रायद्वीपमा अमेरिकाले तनाव सिर्जना गरेको आरोप

कोरियाली प्रायद्वीपमा अमेरिकाले तनाव सिर्जना गरेको आरोप

चीन र रुसले संयुक्त राज्य अमेरिकाले कोरियाली प्रायद्वीपमा तनाव सिर्जना गरेको आरोप लगाएका छन् । उत्तर कोरियाले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेसँगै प्योङयाङमाथि लगाइएको नयाँ विश्वव्यापी प्रतिबन्धमाथि बुधबार संयुक्त राष्ट्रसंघको महासभामा छलफल भएको थियो । उक्त बैठकमा राष्ट्रसंघका लागि चिनियाँ राजदूत ज्याङ जुनले प्रायद्वीपमा तनाव सिर्जना हुनुुको कारण अमेरिकी दोधारे नीति भएको बताए ।

उनले अमेरिकालाई छिटो काम गर्न दबाब दिँदै प्रतिबन्ध हटाउन आग्रह गरे । उनले भने, “अमेरिकाले यहाँ धेरै कुरा गर्न सक्छ । जस्तो, उत्तर कोरियाका केही क्षेत्रहरूमा प्रतिबन्ध खुकुलो गर्न सक्छ र दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास अन्त्य गर्न सक्छ । मुख्य कुरा प्रक्रिया अघि बढाउनु हो । पूर्वसर्तविना वार्ताका लागि तयार छौँ भनेर मात्र हुँदैन ।”

राष्ट्रसंघका लागि रुसका उपराजदूत अन्ना इभस्टिग्नेभाले उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरेकी छन् । उत्तर कोरियाका लागि मानवीय सहायता धेरै चाहिएको र प्रायद्वीपको तनावलाई लिएर प्योङयाङलाई मात्र दोष दिन बन्द गर्नुपर्ने उनले स्पष्ट पारेकी छन् ।

बैठकमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूले ‘भिटो पावर’ प्रयोग गर्नुको औचित्यबारे व्याख्या गरेका थिए । गएको महिना अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा बनाउन खोज्दा चीन र रुसले भिटो लगाएका थिए ।

अमेरिकाको तर्फबाट महासभामा बोल्दै उपराजदूत जेफ्री डिलरेन्टीसले चीन र रुसको आरोपको खण्डन गरेका छन् । उनले प्रश्न गर्दै भने, “कतै बेइजिङ र मस्कोले उत्तर कोरियाका प्रतिबन्धहरूमा भिटो पावर प्रयोग गरेर रणनीतिक साझेदारलाई विश्वव्यापी सुरक्षाभन्दा माथि त राखिरहेका छैनन् रु हामी आशा गर्छौँ कि यी भिटोहरू त्यो साझेदारीको प्रतिविम्ब होइनन् ।” अलजजिराबाट ।

सम्बन्धित् समाचार