गृहपृष्ठ Featured फेरि प्रधानमन्त्री बन्ने दाहालको चाहना

फेरि प्रधानमन्त्री बन्ने दाहालको चाहना

प्रकाशित मिति:

काठमाडौँ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताएका हुन् । अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गरे ।

‘पहिलो चोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बिती गो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ,’ उनले भने ।

राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि दाहालले बताए । ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन,’ दाहालले भने ।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उनको भनाइ थियो । फेरि एक पटक देशको नेतृत्व गरेर नयाँ युगमा मुलुकलाई लैजाने आफ्नो सपना रहेको उनले बताए ।

सम्बन्धित् समाचार