गृहपृष्ठ Featured दाङ–सल्यान–सुर्खेत सडकखण्डको दूरावस्था : ठेकेदार कम्पनीको बहानाबाजी

दाङ–सल्यान–सुर्खेत सडकखण्डको दूरावस्था : ठेकेदार कम्पनीको बहानाबाजी

प्रकाशित मिति:

सल्यान : मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तुलसिपुर-सल्यान-सुर्खेत कालोपत्रे सडक अन्तर्गत सल्यानको कालीमाटी क्षेत्रमा ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दै कालोपत्रे ठाउँठाउँमा भत्किएको छ । गुणस्तरीय काम नहुँदा कालोपत्रे विभिन्न ठाउँमा उक्किएको छ।

२०७४ असार २० गते सुरु भएर २०७८ असार २० मा सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ठेकेदार कम्पनीले दाङ र सल्यानको सिमाना पर्ने एक्लेवरबाट कालिमाटी गाउँपालिकाको केन्द्र पुतलीबजारसम्म १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको थियो । २७ किलोमिटर सडक सम्पन्न गर्नुपर्नेमा अहिले पनि १७ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको छ । सम्बन्धित निकायले एकपटक म्याद थप गरेर पुनः अर्कोपटक थप गर्ने तयारी गरेको छ । तर, ठेकेदार कम्पनीको कालोपत्रेको काम भने कछुवा गतीमा छ ।

सडक डिभिजन कार्यालय दाङले उक्त सडक कालोपत्रे गर्न ४४ करोड विनियोजन गरेको थियो । कार्यालयले गरेको टेण्डर अनुसार कालिका जेभी कन्ट्रक्सनले कामको जिम्मेवारी पाएको थियो । एकातिर ठेकेदार कम्पनीले गरेको कालोपत्रे उप्किएको र अर्कोतिर अझै १७ किलोमिटरभन्दा बढी कालोपत्रेको काम गर्न बाँकी रहेकाले वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्दा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

मदनभण्डारी राजमार्ग अन्तर्गत ठेकदार कम्पनीले दाङको क्षेत्रमा कालोपत्रेको काम राम्रो गरेपनि सल्यानको क्षेत्रमा राम्रो काम नगरेको कालिमाटी गाउँपालिकाका माओवादी केन्द्रका पालिका ईन्चार्ज पुरुषोत्तम भटराईले बताए । सल्यानकै एक्लेवर क्षेत्रमा सबैभन्दा बढी कालोपत्रे उप्किएको उनले जानकारी गराए । ‘सडक डिभिजन कार्यालयका ईन्जिनियरले नियमित अनुगमन गर्दैनन् । जिम्मेवार रहेको स्थानीयतहले ताकेता गर्दैन । कसरी हुन्छ राम्रो काम ?’ उनले भने, ‘हामीले ताकेता गरिरहेका छौं । तर, हाम्रो कुरा ठेकेदार कम्पनीले सुन्दैन ।’

जिम्मेवार निकायको गैरजिम्मेवारीकै कारण ठेकेदार कम्पनीले लापरबाही गरेको र त्यसका कारण सर्वसाधारणले धेरै कष्ट उठाउँदै आएको सुरेशकुमार गाहामगरले बताए । ठुलो वर्षा भएमा अझै धेरै स्थानमा गरेको पिच बगाउने देखिएको उनले दाबी गरे । उनले सम्बन्धित निकाय समक्ष गुणस्तरमापनमा समेत ध्यान दिन आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार