गृहपृष्ठ Featured अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा कृषि उत्पादनमा कमी : अध्यक्ष ओली

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा कृषि उत्पादनमा कमी : अध्यक्ष ओली

प्रकाशित मिति:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताएका छन् । बुधवार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले नेपाल धान बालिका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको बताए । नेपाल कृषिप्रधान देश भएपनि खाद्यान्नहरु आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई बिस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको उनको भनाइ थियो । उनले सहकारीका माध्यमहरु अपनाएर र खण्डीकरणतर्फ नभइ चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए ।

धान खेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढंगले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउनाले अन्नबाली उत्पादन बढाउने कुरामा कमी आइरहेको बताए । ‘धान खेतीलाई बचाउन जरुरी छ । अहिले धेरै ठाउँमा अनावश्यक ढंगले बस्ती कहाँ बसाउने, खेती कहाँ गर्ने ? भन्ने कुरा ध्यान पुगेको छैन । प्लटिङ सिस्टम आदि, इत्यादिले धान खेती वा अन्न बाली लगाउने ठाउँ, कहाँ घडेरी बनाउने, कहाँ बस्ती बसाउनु पर्ने, कहाँ शहर बनाउनु पर्ने, कहाँ खेती लगाउने भन्ने कुराहरुमा गोलमाल भइरहेको छ’, उनले भने, ‘हामी बेठिक ढंगले चलिरहेका छौँ । यसलाई रोक्न जरुरी छ ।’

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्नहरु बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताए । धान, मकै, गहुँ जस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखदर भएको बताए । लापरवाही र असावधानीका कारण यस्ता गल्तीहरु भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियाे ।

सम्बन्धित् समाचार