सागर वि.क. (वैखरी अनलाईन) : बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले मन्त्र जपेर जनप्रतिनिधि नभईने बताएका छन् । उनले सामाजिक काममा सरिक बन्दै जनताको सेवामा समर्पित भए मात्र जनप्रतिनिधि बन्न सकिने बताए । बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको नमुना युवा नगरसभाको अभ्यास सम्बन्धि तालिमलाई सम्बोधन गर्दै उनले भने, ‘मन्त्र जपेर, मन्दिरमा पुजा गरेर जनप्रतिनिधि भईदैन् । त्यसका लागी सामाजिक काममा लाग्नुपर्छ, जनताको सेवा गर्नुपर्छ ।’
उनले स्वदेश विदेशमा आर्जन गरेका ज्ञान सिपको आफ्नै क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । किताबी ज्ञानले मात्र व्यक्तिको सर्वाङ्गीण विकास नहुने भन्दै उनले बाह्य ज्ञान पनि आवश्यक रहेको बताए । अहिले प्रविधिको गलत प्रयोग भईरहेको त्यसले समाजमा नकारात्मक प्रभाव परिरहेको उनको भनाई छ ।
कार्यक्रममा बाणगंगा- ७ का वडाध्यक्ष विष्णु गिरी, बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जि.सी. र जिल्ला युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरेको सहभागिता रहेको थियो । जिल्ला युवा समिति अर्घाखाँचीका निवर्तमान अध्यक्ष लिल बहादुर वि.क.ले प्रशिक्षण दिनुभएको तालिममा बाणगंगा नगरपालिकाका ११ वटै वडाका युवाहरुको सहभागिता छ ।








