गृहपृष्ठ Featured आज हरिशयनी एकादशी : हिन्दु धर्मावलम्वीहरु घर-घरमा तुलसी रोप्दै

आज हरिशयनी एकादशी : हिन्दु धर्मावलम्वीहरु घर-घरमा तुलसी रोप्दै

प्रकाशित मिति:

काठमाडौं । आज आइतबार हरिशयनी एकादशी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्वीहरु घर घरमा तुलसीको बिरुवा सार्ने गर्दछन् । तुलसीको विरुवा सारेपछि चार महिनासम्म गरिने चतुर्मासा ब्रत पनि आइतबारदेखि सुरू हुँदैछ ।

एक महिनाअघि निर्जला एकादशीका दिन तुलसीको विऊ छर्ने र त्यसबाट उम्रिएको विरुवा आइतबार मठमा सार्ने चलन छ ।

सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा लिने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

हरिशयनी एकादशीका अवसरमा आइतबार बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ ।

सम्बन्धित् समाचार