सार्क मुलुक श्रीलंकाले वर्तमान राजनीतिक संकटको सम्बोधन गर्न आगामी मार्चअघि आमनिर्वाचन गर्ने भएको छ ।
वर्तमान राष्ट्रपति गोटाबाय राजापाक्षेले बुधबार संसद्का सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नेछन् र अर्को वर्ष मार्चअघि राष्ट्रपति र संसदीय निर्वाचन गराउने निर्णय गरिएको श्रीलंकाको स्थानीय समाचार संस्था डेली मिररले जनाएको छ ।
शनिबार साँझ सभामुखले राष्ट्रपतिले बुधबार राजीनामा दिने घोषणा गरे पनि उनले पदबाट राजीनामा दिने कि नदिने अनिश्चितता थियो । तर, शनिबार देशव्यापी विरोध भएपछि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग भएको छलफलमा राजापाक्षेले जुलाई १३ मा आफ्नो राष्ट्रपतिको अन्त्य गर्ने र विक्रमासिङ्घे वा नयाँ नेतालाई सपथ ग्रहण गर्ने अनुमति दिएका थिए। राष्ट्रपति राजापाक्षेको ठेगाना अझै अज्ञात छ ।
विक्रमासिंघेले संसद्मा झन्डै ११५ सिटमा बहुमत ल्याएका थिए । आइतबार साँझसम्म राजनीतिक दलभित्र भएको छलफलपछि धेरै सांसदहरूले उनलाई सरकार नछोड्न, बरु राष्ट्रपति पद सम्हाल्न तथा विशेषगरी आईएमएफसँग वार्ता जारी रहेकाले आर्थिक संकटलाई आधा बाटोमा नछोड्न आग्रह गरेका थिए ।
यता विपक्षी नेता सजित प्रेमदासले पनि छुट्टाछुट्टै छलफल गरी राष्ट्रपतिमा निर्वाचित भएमा प्रधानमन्त्रीका लागि आफ्नो सम्भावित उमेदवार दुल्लास अल्लाहप्पेरुमा हुने संकेत आफ्नो समूहलाई दिएका छन् । तर, सजितले अझैसम्म संसद्को बहुमतीय समर्थन जुटाउन सकेका छैनन् ।
विक्रमासिंघेले पदमा निरन्तरता पाएमा राजापाक्षेको राजीनामापछि बुधबार राष्ट्रपति पदको सपथ लिनेछन् । राष्ट्रपतिको निर्वाचन नभएसम्म उनले आईएमएफसँगको सम्झौतालाई अन्तिम रूप दिने र कुनै प्रकारको आर्थिक सहजता पुनस्र्थापनामा केन्द्रित हुनेछन् । विक्रमासिङ्घे नेतृत्वको सरकारको प्रधानमन्त्री पदको उमेदवार को बन्ने भन्ने टुंगो छैन, तर उनलाई संसद्ले उपयुक्त उमेदवार मनोनयन गर्न दिने सम्भावना छ ।
यदि, उनले राजीनामा दिएमा संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले बुधबार अस्थायी रूपमा राष्ट्रपतिको रूपमा ३० दिनको अवधिको लागि शपथ लिनेछन् । त्यस अवधिमा संसद्ले बहुमत समर्थन भएको कुनै पनि उमेद्वारलाई नयाँ राष्ट्रपति चयन गर्नेछ ।
आज साँझ प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएर इन्धन ढुवानी र यसै साता स्वदेश आउन लागेको विदेशी प्रतिनिधिमण्डलबारे छलफल गर्नेछन् । राष्ट्रपति राजापाक्षे सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा सहभागी हुने सम्भावना छ । यस्तै, राष्ट्रपतिबाट कुनै पनि राजीनामा स्वीकृत नभएकाले राजीनामा बुझाएका मन्त्रीहरूले आफ्नो विभागमा निरन्तरता पाउने बताइएको छ ।
कोलम्बो र उपनगरमा खाना पकाउने ग्यास वितरण सुचारु
लिट्रो ग्यास लंका लिमिटेडले सोमबारदेखि कोलम्बो र उपनगरमा खाना पकाउने ग्यास वितरण सुचारु हुने र अन्य क्षेत्रमा बुधबारबाट वितरण हुने जानकारी दिएको छ ।
लिट्रो लंकाले कोलम्बोमा १२.५ किलोग्रामको ग्यास सिलिन्डरको अधिकतम खुद्रा मूल्य चार हजार ९१० तोकेको बताउँदै चर्को मूल्य तिरेर वा अन्य पक्षबाट ग्यास खरिद नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । अनावश्यक भण्डारण हुन नदिन उपभोक्तालाई ग्यास सिलिन्डर खरिद गर्दा पहिचानको प्रमाणका रूपमा जेठ महिनाको बिजुलीको बिल पेस गर्नसमेत आग्रह गरेको छ ।
स्रोत : डेल्ली मिरर








