बुटवल : लुम्बिनीमा एकै दिन तीन जना बालिकाको पानीमा डुवेर मृत्यु भएको छ। रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ५ पिपरहवाका फलउद्धिन इनरियाकी ५ वर्षकी छोरी मुस्कान खातुन र सोही ठाँउका मोहागुल्लाह इनरियाकी छोरी ३ वर्षकी जयनम इनरियाको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले जानकारी दिए।
घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा मंगलबार उनीहरु डुवेका थिए। खेल्ने क्रममा दुवै बालिका माछा पोखरीमा डुवेको हुन सक्ने बताइएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।
मंगलबार नै जिल्लाको सम्मरीमाइ गाँउपालिका ५ मा पनि तीन बर्षे बालिका तिनाउ खोला डुवेको अवस्थामा मृत भेटिएकी छन। सम्मरीमाइ ५ का रोहीत चाइकी ३ बर्षकी छोरी सिर्जना चाइ सोही स्थानमा तिनाउ किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ। बुवाआमा खेतमा काम गर्न गएका बेला उनको नदिमा डुवेर मृत्यु भएको बताइएको छ।








