भैरहवा : रुपन्देही प्रहरीले श्रोत नखुलेको साढे १२ लाख रुपैया सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेद बहादुर पौडेलका अनुसार पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला जुगौली (सुनौली) बस्ने ४६ बर्षिय आशी साहु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलहियाको टोली भैरहवा बाईपासमा चेकजाँचमा रहेको थियो । सोही क्रममा लु ६ प ७१२९ नम्बरको मोटरसाईकलमा रहेका साहुलाई शंका लागी चेकजाँच गर्दा श्रोत नखुलेको उक्त रकम फेला परेको पौडलले जनाए ।
प्रहरी निरिक्षक पौडेलका अनुसार पक्राउ परेका साहुबाट १ हजारका १ हजार १ सय थान नोट (११ लाख रुपैया) र ५ सयका ३ सय थान नोट (१ लाख ५० हजार) गरि जम्मा १२ लाख ५० हजार रुपैया फेला परेको हो ।
फेला परेको रकम, मोटरसाईकल र पक्राउ परेका साहुलाई थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय बुझाईएको सहायक सूचना अधिकारी पौडेलले बताए ।