गृहपृष्ठ Featured कपिलवस्तु आएर पर्यटनमन्त्री श्रेष्ठले भने- ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छ’

कपिलवस्तु आएर पर्यटनमन्त्री श्रेष्ठले भने- ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छ’

प्रकाशित मिति:

कपिलवस्तु : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास गरिने बताएका छन् । सोमवार तिलौराकोटको अवलोकन गर्न कपिलवस्तु आईपुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका उनको सचिवालयले जनाएको छ ।

गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको उनको भनाइ थियो ।

तिलौराकोट दरबारको समुचित विकास एंव प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको धारणा राखे ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले बताए ।

बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्ने उनको भनाइ थियो । गौतम बुद्धले बाल्यकाल बिताएको मानिने तिलौराकोटलाई विश्वभरका बौद्धमार्गीहरूद्वारा महत्वपूर्ण स्थलका रुपमा लिइँदै आइएको छ ।

सम्बन्धित् समाचार