गृहपृष्ठ Featured कृष्णनगर भन्सारमा ९३ प्रतिशत मात्र राजस्व संकलन

कृष्णनगर भन्सारमा ९३ प्रतिशत मात्र राजस्व संकलन

प्रकाशित मिति:

कपिलवस्तु : देशकै प्रमुख १० भन्सार मध्ये जिल्लाको कृष्णनगर भन्सारमा गत आर्थिक वर्ष २०७८/०७९ मा तोकिएको लक्ष्यको ९३ दशमलव ४६ प्रतिशत मात्र राजस्व संकलन भएको छ।

भन्सारमा गत आर्थिक वर्ष ५ अर्व ४३ करोड ४४ लाख ३७ हजार रुपैँया राजस्व संकलन भएको हो।

गत आवका लागि भन्सारलाई ५ अर्व ८१ करोड ४८ लाख ८१ हजार रुपैँया लक्ष्य तोकिएको थियो। गत आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्य भन्दा ७ प्रतिशत बढी  ५ अर्व २७ करोड ५ लाख ५६ हजार रुपैँया राजस्व संकलन भएको थियो। भन्सार नाकाबाट चामल फलफुल , खरानी, जिप्सम, आइरन डस्ट आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीहरु बताउछन्।

यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपूर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ।

कपिलवस्तुको कृष्णनगर भन्सारबाट बर्षेनी आयात बढ्दै गएको छ। गत आर्थिक बर्ष ०७८÷०७९ मा २६ अर्व ८१ करोड ३८  लाख ९४ हजार ५५ रुपँैयाको सामान सो भन्सारबाट आयात भएका छन्। आर्थिक बर्ष ०७७/०७८ मा २४ अर्व ५० करोड ८६ लाख रुपैँयाको सामान आयात भएको थियो।

भन्सार प्रमुख जर्नादन पौडेल अनुसार भारतबाट आयात हुने सामानहरु निरन्तर बढ्दै गएको हो। आयातको तुलनामा निर्यात भने निकै कम हुने गरेको छ। सो भन्सार हुँदै भारततर्फ ५४ करोड ४६ लाख ३० हजार ३३२ रुपैँयाको सामान निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष भने ३३ करोड २२ लाख १३ हजार रुपैँयाको नेपाली सामान निर्यात भएको थियो।

आयात मध्ये सबैभन्दा बढी चामल मात्र ६ अर्व ३३ करोड १४ लाख रुपैँयाको चामल आयात भएको छ।  अघिल्लो आर्थिक वर्ष भने ३ अर्व ५४ करोड ६३ लाख रुपैँयाको चामल नेपाल भित्रिएको थियो। यस्तै फलफुल २ अर्व ९६ करोड ५० लाख ३४ हजार रुपैँयाको आयात भएको छ। एमएस बिलेट २ अर्व १६ करोड ७७ लाख ६६ हजार रुपैँयाको भित्रिएका छन्।

कोईला १ अर्व ५५ करोड ३० हजार, खाली सिसा बोतल १ अर्व २० करोड ३४ लाख रुपैँया,फ्लाईस १ अर्व ७३ लाख रुपैँयाको आयात भएका छन्। जिप्सन ८६ करोड ६८ लाख, बयाट्री माल्ट ८१ करोड २७ लाख रुपैँया, आईरन आरे फाइन ५८ करोड २७ लाख रुपैँया, मुंगफली दाना ५३ करोड रुपैँया बढीको आयात भएका छन्।

भारततर्फ २६करोड २३ लाख रुपैँयाको रोजीन निर्यात भएको भन्सार प्रमुख जर्नादन पौडेलले बताए। १४ करोड ८० लाख रुपैँयाको प्लाईउड, टरपेनटाईत आयल ५ करोड ६२ लाख रुपैँया, मुस्टार्ड सामान १ करोड २३ लाख रुपैँया, सुगन्ध कोकिला मार्क १ करोड १५ लाख रुपैँया, फेल्ट बालर ८७ लाख ४२ हजार रुपैँया, काठका सामाग्री ५८ लाख २३  हजार रुपैँया, काठका कचौरा ३९ लाख ८४ हजार रुपैँयाका सामाग्रीहरु भारत पठाइएको छ।

‘आयत निरन्तर बढिरहेको छ, निर्यात बढे पनि त्यो संतोषजनक छैन’ प्रमुख पौडेलले भने, ‘भन्सार असुलीको हिसाबले ठीक हो, तर समग्र राष्ट्रको उत्पादनमा भने परनिर्भता झनै बढिरहेको देखिन्छ’। आयात भएका सामानहरुमा व्यक्तिहरु भारतीय बजारबाट किनेर झोलामा ल्याएका सामानहरुको मूल्य समावेश नभएको पौडेलले बताए। यो समेत जोड्ने हो भने आयातको रकम झनै बढनेछ।

सम्बन्धित् समाचार