गृहपृष्ठ Featured लेवानडोवस्कीको डेब्युमा बार्सिलोना बराबरीमै रोकियो

लेवानडोवस्कीको डेब्युमा बार्सिलोना बराबरीमै रोकियो

बार्सिलोनाले खेल अवधिभर नियन्त्रण कायम राखे पनि शनिबार राति स्पेनिस ला लिगाको पहिलो खेलमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिएको छ ।

‘समर ट्रान्सफर विन्डो’मा ठूलो रकम खर्च गरेको बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आन्द्रेस क्रिष्टेनसेन, रोबर्ट लेवानडोवस्की र राफिन्हा र फ्रांक केसीइलाई डेब्यु गराएका थिए । तर दुर्भाग्य, ८० हजार दर्शक उपस्थित क्याम्प नोउमा बार्सिलोना घरेलु दर्शकलाई खुसी बनाउन असफल रह्यो ।

१२औं मिनेटमा लेवानडोवस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर, रेफ्रीले उक्त गोललाई अफसाइड घोषित गरिदिए । पहिलो हाफको अन्तिम समयमा रायो भायोकानोका अल्भारो गार्सियाले राम्रो अवसर खेर फाले । विपक्षी रक्षकलाई विट गर्दै ६ यार्ड बक्सबाट हानेको प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले बचाइदिएका थिए ।

६५औं मिनेटमा बार्सिलोनाका बैकल्पिक खेलाडी अंसु फातीको प्रहारलाई विपक्षी गोलकिपर स्टोल दिमित्रिभस्कीले बचाइदिए । त्यस्तै, अर्का वैकल्पिक खेलाडी पिइरे–इमेरिक औबमेयाङको प्रयासलाई पनि दिभित्रिभस्कीले विफल बनाइदिए । बार्सिलोनाका फ्रांक केसीइले ८८औं मिनेटमा गरेको गोललाई पनि रेफ्रीले अफसाइड घोषित गरिदिए ।

इन्जुरी समयमा कप्तान सर्जियो बुस्केटले रातो कार्डको सामना गरेपछि बार्सिलोनाले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । बुस्केटले राडामेल फाल्काओलाई फाउल गरेपछि दोस्रो पहेंलो कार्डको सामना गरेका हुन् ।

ला लिगामा गए राति भिल्लारियालले रियाल भालाडोलिडलाई ३–० ले हरायो । सेल्टा भिगो घरेलु मैदानमा स्पानियोलसँग २–२ को बराबरीमा रोकिँदा सेभिया ओसासुनासँग २–१ ले पराजित भयो ।

सम्बन्धित् समाचार