बुटवल : यातायात व्यवसायी र मजदुरले दाङको तुलसीपुरमा एक घण्टा चक्का जाम गरेका छन् । बुधबार बिहान ९ देखि १० बजेसम्म तुलसीपुरमा उनीहरूले आफ्ना सवारी साधन सडकमै तेर्स्याएर सवारी आवागमन ठप्प पारेका हुन् ।
सरकारले रुट परमिटका नाममा चर्को कर वृद्धि गरेको, जरिवाना रकम बढाएर पाँच हजारसम्म पु¥याएको तथा तुलसीपुर–घोराही चार लेन सडकखण्ड पाँच वर्षसम्म पनि १० प्रतिशत काम नभएको विरोधमा चक्काजाम गर्नु परेको उनीहरूले बताएका छन् ।
नेपाल यातायात राष्ट्रिय महासंघका जिल्ला सचिव घनश्याम बस्नेतले २०७५ सालमा निर्माण सुरु भएको तुलसीपुर–घोराही सडकखण्ड पाँच वर्षसम्म अस्तव्यस्त हुँदा गाडीले दैनिक ३०० देखि ५०० सम्म बढी तेल खाने गरेको, गाडीमा टुटफुट अत्यधिक बढेको तथा दुर्घटना बढेको हुँदा तत्काल सडक निर्माण गर्नुपर्ने माग गरे ।
सरकारले पछिल्लो समय यातायात कर गुणात्मक रुपमा वृद्धि गर्दा यातायात व्यवसायी र मजदुर अप्ठेरो अवस्थामा पुगिसकेका भन्दै त्यो कर पहिलेकै यथावत राख्नुपर्ने माग गरे ।
झन्डै दुई महिनाअघि सरकारले पहिला एक वर्षका लागि हुने रुट परमिट जाँच पास घटाएर ६ महिनाका झार्नुको साथै सवारी कर पनि बढाएको थियो । जसको विरोधमा भदौ १० देखि ११ गतेसम्म यातायात व्यवस्था कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको बस्नेतले जानकारी दिए ।
त्यतिगर्दा पनि सरकारले बेवास्ता गरे भदौ १९ गतेदेखि पूर्ण रुपमा यातायात बन्द गर्ने बस्नेतले बताए ।