कपिलवस्तु ।
प्रशासन कार्यालय भित्र अनावश्य रुपमा पसेर सेवा ग्राहीको काम गरी दिन्छु भन्दै छिरेका ३ जनालाई कारबाही गरिएको छ । प्रजिअ धर्मेन्द्र कुमार मिश्रले प्रशासन कार्यालयलाई बिचौलियामुक्त बनाउन प्रशासन कार्यालयमा पसेका ३ जना बिचौलियालाई कारबाही गरेका हुन ।
अनावश्यक रुपमा भीडभाड गर्ने र काम बनादिन्छु भन्दै भित्र छिरेका ३ जनालाई गत भदौ १५ गते नियन्त्रणमा लिई कारबाही गरेको प्रजिअ मिश्रले बताए । विचौलियामा एक जना भारतीय नागरिक, एक जना मुख्य राजनैतिक दलको जिल्ला कार्यकर्ता र एक जना ब्यवसायी हुन् । आफनो कक्षमा रहेको सिसि टिभिमा ३ जना बिचौलियाले काम गरेको भेटेपछि नियन्त्रणमा लिई ३ घन्टासम्म प्रशासन कार्यालय भित्र राखेको उनले बताए ।
कार्यलय भित्र आएर नागरिकता, राहदानी लगायतका फाँटमा कर्मचारीलाई विभिन्न वाहनामा दवाव दिने, राजनीति पदको हवाला दिदै निर्देशीत गर्न खोज्ने, हुल हुज्जत गर्न खोज्नेलाई प्रशासन कार्यालय भित्र पस्न नदिने उनले बताए । प्रजिअ मिश्राले अव प्रशासनभित्र आफ्नो ब्यक्तिगत काम वाहेक अरुको काम लिएर नआउने प्रतिवद्धता गराई छाडेका बताए ।
राहदानी र प्रशासन फाटमा पसेका तिनीहरुको हाउभाउले बिचौलियाका काम गरेको भेटिएको उनले बताए । उनले आईतवार देखि जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए ।
जेष्ठ नागरिक, फरक क्षमता भएका सेवाग्राहीहरुलाई प्राथमिकता दिई सेवा प्रवाह गर्ने व्यवस्था गरिएको उनले बताए । कसैले त्यसरी सेवा प्राप्त गर्न नपाएमा सीधै प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्न अपील गरेका छन ।
जनताको गुनासो सुन्न प्रमुख जिल्ला अधिकारीको मोबाईल नं ९८५७०३७७७७ मा फोन गर्न वा ह्वाट्सएपमा वा भाइवरमा म्यासेज गर्न उनले आग्रह गरे ।