गृहपृष्ठ Featured ‘एमाले पार्टीभित्र दलाली प्रथा हावी भयो’ : नेता पोख्रेल

‘एमाले पार्टीभित्र दलाली प्रथा हावी भयो’ : नेता पोख्रेल

वैखरी अनलाईन, बाणगंगा ।

नेकपा एमाले कपिलवस्तुका नेता महादेव पोख्रेलले कपिलवस्तुको क्षेत्र नम्बर ३ का लागी सिफारिस भएका नामप्रति चर्को असन्तुष्टि जनाएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा संघ र प्रदेशका लागी आईतबार बसेको एमालेको क्षेत्रीय बैठकले नाम सिफारिस गरेको थियो ।

कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’ प्रदेश सभा सदस्यका लागि रजाउ अहमदको नाम सिफारिस गरेकोप्रति आफ्नो आपत्ति रहेको पोख्रेलले बताए ।

प्रदेश सभा सदस्यका लागि सिफारिस रजाउ अहमद गत स्थानीय तहको निर्वाचनमा राप्रपालाई जिताउने अभियानमा लागेको उनले दाबी गरे । उनले नेकपा एमालेभित्र दलाली प्रथा हावी भएको जिकीर गरे । ‘गत स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारलाई हराउन लाग्नेलाई अहिले उम्मेद्वार बनाउन नाम सिफारिस गरेको देख्दाँ अचम्म लाग्छ,’ उनले भने, ‘ एमाले पार्टीभित्र दलाली प्रथा हावी भयो ।’

यस्तै बैठकले संघतर्फ एमालेका केन्द्रिय सल्लाहकार मंगलप्रसाद गुप्ता र एमाले जिल्ला सचिवालय सदस्य टोपलाल पोख्रेलको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर ३ को ‘क’ प्रदेश सभा सदस्यका लागि वर्तमान प्रदेश सभा सदस्य एवम् एमाले कपिलवस्तुका जिल्ला उपसचिव अर्जुन कुमार केसीको नाम सिफारिस गरेको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट शिवराज नगरपालिकाको मेयरका उम्मेद्वार बनेका पोख्रेल पराजित भएका थिए । उनी राप्रपाबाट उम्मेद्वार बनेका हालका मेयर अजय थापासंग पराजित भएका हुन् ।

सम्बन्धित् समाचार