वैखरी अनलाईन, बाागगंगा ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि कपिलवस्तुमा आवेदन दिनेको भीड लागेको छ ।
एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुलाएपछि आवेदन दिनेको भीड लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दर्खास्त दिन थेगीनसक्नु भीड छ ।
१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ६ असोजसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । नेपाल प्रहरीले ३० वैशाखमा भएको निर्वाचनका लागि नै १ लाख १९ हजार म्यादी प्रहरी चाहिने प्रस्ताव गरेको थियो । त्यसबेला एक लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृति दिएको थियो ।
संघीय र प्रादेशिक निर्वाचन हुने बेलासम्म चाहिँ ५ लाख बढी नयाँ मतदाता थपिएको अवस्थामा म्यादी प्रहरीको संख्या बढाइएको हो ।