गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा निर्वाचन आचार संहिताको खिल्ली उडाउँदै

लुम्बिनी प्रदेशसभा निर्वाचन आचार संहिताको खिल्ली उडाउँदै

प्रकाशित मिति:

 बुटवल, असोज १२ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै लुम्बिनी प्रदेश सभाले शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गतेको लागि घोषणा भइसकेकाले निर्वाचन आयोगले असोज १ गते रातीदेखि नै प्रदेश र प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको जनाएको छ। तर लुम्बिनी प्रदेश सभाले भने प्रदेश सभाको कार्यकाल समाप्त भएको १५ दिनपछि निर्वाचन आचार संहिताविपरीत बडा दसैंको अवसरमा भन्दै सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तयारी गरेको हो।

प्रदेशसभा सचिवालयले आगामी असोज १४ गते प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा निर्माणाधीन प्रदेशसभा भवनमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको र उपस्थितिको लागि भन्दै निवर्तमान प्रदेशसभा सदस्यहरूलाई पत्र पठाएको छ।

प्रदेशसभा सचिवालयबाट पत्र पठाइएको भए पनि नेकपा एमालेका प्रदेशका निवर्तमान सांसदहरूले भने प्रदेश सभाको कार्यकाल समाप्त भइसकेपछि र निर्वाचन आचार संहिता लागु भइसकेपछि आयोजना गरिएको उक्त कार्यक्रममा आफूहरू उपस्थित नहुने बताएका छन्।

लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक रहेका भूमिश्वर ढकालले प्रदेश सभाको कार्यकाल समाप्त भइसकेको अवस्थामा प्रदेश सभाको नाममा कार्यक्रम गरिनु निर्वाचन आचार संहिताविपरीत हुने बताए।

उनले प्रदेश सरकारले सत्ताको आडमा निर्वाचनलाई प्रभावित पार्ने गरी आचार संहिताविपरीत कार्यक्रम आयोजना गरेकोले आफूहरू कसैको पनि सहभागिता नहुने बताए।

सम्बन्धित् समाचार