गृहपृष्ठ Featured मनाङमा असोजमै हिमपात, रोकिए पर्यटक

मनाङमा असोजमै हिमपात, रोकिए पर्यटक

लमजुङ ।

हिमाली जिल्ला मनाङमा असोजमै हिमपात भएको छ । केही दिनको अविरल वर्षासँगै हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको स्थानीयले बताएका छन् ।

मनाङ गाउँस्थित तिलिचो होटलका सञ्चालक ६१ वर्षीय कर्म गुरुङले यसअघि असोज पहिलो साता नै हिउँ परेको थाहा नपाएको बताए । ‘हिउँ २ इन्च जति जमेको छ । हामी पनि बाहिर निस्केका छैनौं । पर्यटकलाई पनि बाहिर ननिस्कन आग्रह गरेका छौं‚’ उनले भने । उनका अनुसार वेदर फोरकास्टले शनिबारसम्म हिउँ देखाएको छ । उनका अनुसार यसअघि २०७१ मा असोज तेस्रो साता हिमआँधी (हुदहुद) आएका कारण धनजनमा क्षति पुर्‍याएको थियो ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि मनाङमा हिमपात भएको बताए । ‘बिहान त हिउँमात्रै परेको थियो । अहिले हिउँ र पानी दुवै परिहेको छ‚’ उनले भने । उनका अनुसार हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ; चिसो बढेको छ ।

सम्बन्धित् समाचार