गृहपृष्ठ Featured रियालका फरवार्ड बेन्जेमा च्याम्पियन्स लिगमा फर्कने

रियालका फरवार्ड बेन्जेमा च्याम्पियन्स लिगमा फर्कने

रियाल मड्रिडका फरवार्ड करिम बेन्जेमा आज राति हुने च्याम्पियन्स लिगअन्तर्गत शाख्तर डोनेस्कविरुद्धको टिममा उपलब्ध हुने भएका छन् ।नकआउट चरणमा स्थान पक्का गर्ने लक्ष्यमा रहेको रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले बेन्जेमा टिममा उपलब्ध हुने पक्का भएको बताएका छन् ।

“करिम ठिक छन् । उनले मंगलबार पहिलो रोजाइमा स्थान बनाउनेछन्,” रियालका प्रशिक्षक एन्सेलोट्टीले भने । गएको सेप्टेम्बरमा बेन्जेमाको तिघ्रामा चोट लागेको थियो ।

च्याम्पियन्स लिगमा रियाल मड्रिड नौ अंकका साथ समूह ‘एफ’कोे शीर्ष स्थानमा छ । त्यो दोस्रो स्थानको शाख्तरभन्दा पाँच अंकको अगाडि हो । आज राति हुने खेलमा शाख्तरलाई हराएमा रियालले नकआउटमा स्थान पक्का गर्नेछ ।

“नकआउट चरणमा स्थान पक्का गर्ने हाम्रो मुख्य लक्ष्य हो र त्यो चाँडै पूरा हुनेछ,” सोमबार सम्पन्न खेलअघिको पत्रकार सम्मेलनमा एन्सेलोट्टीले भने, “यसले मानसिक रूपमा हामीलाई धेरै बलियो बनाउनेछ । र, स्पेनिस ला लिगामा पनि हामीलाई ऊर्जा मिल्नेछ ।”

इटालियन प्रशिक्षक एन्सेलोट्टीले आइतबार बार्सिलोनाविरुद्ध ‘एल क्लासिको’ खेल भएका कारण आज टिममा केही परिवर्तन हुने पक्का भएको बताएका छन् । उनले भिनिसियस जुनियरलाई आरम दिन सक्छन् ।

नियमित गोलकिपर थिबाउट कोर्तुवाले पनि आरम पाउने भएका छन् । युक्रेनमा युद्धका कारण शाख्तरले च्याम्पियन्स लिगको खेल पोल्यान्डको राजधानी वार्समा अयोजाना गर्नेछ । त्यसकारण रियालले युक्रेनका एन्ड्री लुनिनलाई खेलाउने जनाएको छ ।

सम्बन्धित् समाचार