गुल्मीमा १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारणलाइनका दुई ठूला विद्युत् सबस्टेसन निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । रेसुंगा नगरपालिका- ७ को उनायचौर र मुसिकोट नगरपालिका- १ को पौदी अमराईमा करिब ८१ करोडको लागतमा दुई ठूला विद्युत् सबस्टेसन निर्माणको काम भइरहेको छ ।
उनायचौरमा ६२ र पौदी अमराईमा ७४ प्रतिशत काम सकिएको बुर्तिबाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारणलाइन आयोजना कार्यालयले जनाएको छ । उनायचौरमा मेनलाइनको दुईबाहेक अरू फाउन्डेसन निर्माणको काम सकिएको आयोजना कार्यालयका प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए । गार्डरुम, आवास, स्टोर र कन्ट्रोलरुम केही दिनमा निर्माण व्यवसायीले आयोजनालाई हस्तान्तरण गर्नेछन् । उनले पौदी–अमराईमा भवन र फाउन्डेसनका सबै काम पूरा भएको जानकारी दिए ।
उनायचौरमा ४० करोड ८० लाखको लागतमा सिग्मा कन–नरेन्द्र निर्माण जेभी र पौदी–अमराईमा ३९ करोड ९६ लाखको लागतमा आरजे कन्स्ट्रक्सनले सबस्टेसन निर्माणको काम गरिरहेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । सबस्टेसन निर्माणको काम दुई वर्षभित्र सक्ने गरी ०७७ जेठमा निर्माण व्यवसायीले सम्झौता गरेका थिए । यो काम तोकिएको समयअगाडि नै सम्पन्न हुने दाबी आयोजनाले गरेको छ । चौधरीका अनुसार सबस्टेसनको कामसँगै अर्घाखाँचीबाट गुल्मीका दुई सबस्टेसन हुँदै बुर्तिबाङसम्म मेन लाइन विस्तारका लागि ८१ करोडको काम अगाडि बढेको छ ।
प्रसारणलाइनले चार जिल्ला जोड्दै
आयोजनामार्फत कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीकाे सन्धिखर्क हुँदै गुल्मीको उनायचौर–पौदी अमराईदेखि बाग्लुङको बुर्तिबाङसम्म ८६ किलोमिटर दूरीमा पाँचवटा सबस्टेसन निर्माण हुँदै छन् । त्यसमध्ये कपिलवस्तु र अर्घाखाँचीमा सबस्टेसन निर्माणको काम सकिएर चार्ज गर्ने काम हुँदै छ ।
सबस्टेसन निर्माणसँगै प्रसारणलाइन विस्तारको काम पनि भएको छ । कपिलवस्तुदेखि अर्घाखाँचीको ठाडासम्म प्रसारणलाइनको टावर निर्माण गरिएको आयोजना प्रमुख मनोजप्रसाद चौधरीले बताए । ‘काममा सबैको सहयोग पाएका छौँ । तोकिएकै समयमा सबै काम पूरा गर्ने गरी आयोजनाले काम गरिरहेको छ,’ उनले भने, ‘सबस्टेसनसँगै प्रसारणलाइन विस्तारको काम गरिहाल्छौँ ।’








