आश्विन २६, तिलोत्तमा ।
नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।
रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।
सनोज गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट पालिका प्रमुख पदका प्रत्यासी थिए । पार्टी परित्याग गरेका उनीहरूले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले पूर्वउपमहासचिव घनश्याम भूसाललाई समर्थन गरेको बताए ।








