बुटवल, असोज २९ ।
निर्वाचनको रिपोर्टिङ गर्दा सबै भन्दा बढी संवेदनशील हुनुपर्ने सरोकारवालाले बताएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार मिडिया एक्सन नेपालले आयोजना गरेको ‘फेयर मिडिया कभरेज अफ इलेक्सनन्स’ नामक एकदिने कार्यशालामा सरोकारवालाले उम्मेदवार तथा दलहरुले पत्रकालाई आफ्नो प्रचार-प्रसारको माध्यम बनाउने सक्ने भएकाले अझ बढी संवेदनशील हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनका बेला पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र भएर रिपोर्टिङ गर्नुपर्ने बताए । निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकाहरुलाई माध्यम बनाएर आफनो प्रचारप्रसार गर्नसक्ने सम्भावना हुने भएकाले यस्ता गतिविधिबाट बच्न अझ बढी चनाखो बन्नुपर्ने बताए ।
पत्रकारले दलको पक्ष विपक्ष लिने भन्दा पनि आफनो अधिकारलाई भोट हाल्नेमा सीमित राख्नुपर्ने उनको भनाई छ ।
कार्यशाला गोष्ठीमा अर्का प्रशिक्षक अन्नपूर्ण एक्सप्रेस साप्ताहिकका सम्पादक कमलदेव भट्टराईले पत्रकारले निर्वाचनका बेला उम्मेदवारका भनाई राख्दा व्यक्ति विशेष नभई सबैलाई स्थान दिनुपर्ने बताए । पत्रकारले अडकलबाजी गरेर कुनै एक उम्मेदवारको पक्षपोषण गर्नेगरी समाचार लेख्नु गलत भएको उनको भनाई छ ।
पत्रकार कल्पना आचार्यले निर्वाचनका बेला महिला उम्मेदवार, मतदाताको अपेक्षा, महिला सहभागिताको विषयलाई विशेष ध्यान दिनुपर्ने बताइन । निर्वाचनका बेला मतदान स्थल अपांगमैत्री भएरनभएको, गर्भवती, सुत्केरी, वृद्धवृद्धाहरुका लागि सहज भएरनभएको विषयमा पनि पत्रकारहरुले निगरानी राख्नु पर्ने उनको भनाई छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न ४ जिल्लाका २५ जना पत्रकारहले आ–आफनो क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए । कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका गरी ४ जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको थियो ।








