गृहपृष्ठ Featured स्कटल्यान्डसँग वेस्ट इन्डिज पराजित

स्कटल्यान्डसँग वेस्ट इन्डिज पराजित

दुईपटकको च्याम्पियन वेस्ट इन्डिज सोमबार ट्वान्टी(ट्वान्टी विश्वकपको प्रारम्भिक चरणमा स्कटल्यान्डसँग ४२ रनले पराजित भएको छ । समूह ‘बी’ को यस खेलमा स्कटल्यान्डले अर्को स्तब्धपूर्ण नतिजा निकालेको हो ।

अघिल्लो दिन मात्र नामिबियाले एसियाली च्याम्पियन श्रीलंकालाई पराजित गरेको थियो । जितका लागि १ सय ६१ रन पछ्याउने क्रममा वेस्ट इन्डिज १८.३ ओभरमा १ सय १८ रन बनाएर अलआउट भएको हो ।

उसका लागि जेसन होल्डरले बनाएको ३८ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो । स्कटल्यान्डका बलरमध्ये म्यार्क वाट सबैभन्दा सफल रहे । उनले १२ रनमा तीन विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले पाँच विकेटमा १ सय ६० रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान जर्ज मन्सीले नटआउट रहेर ५३ बलमा उत्कृष्ट ६६ रन बनाए । उनले नौ चौका प्रहार गरे ।

मुन्सीले पहिलो विकेटका लागि माइकल जोन्ससँग मिलेर ५५ रनको साझेदारी गरे । जोन्सले २० रन बनाए । यस्तै म्याकलम म्याकलोडले २३ रनको योगदान दिए । वेस्ट इन्डिजका बलरमध्ये अल्जरी जोसेफ र होल्डरले दुई दुई विकेट लिए ।

सम्बन्धित् समाचार