श्रीलंकाले ट्वान्टी-ट्वान्टी विश्वकपको प्रारम्भिक चरणको समूह ‘ए’ को खेलमा यूएईमाथि मंगलबार एकपक्षीय जित निकालेको छ । श्रीलंकाले यो खेल ७९ रनले जितेर सुपर–१२ पुग्ने सम्भावनालाई जीवन्त राख्यो ।
समूहको शीर्ष दुई स्थानमा रहेर अर्को चरणको यात्रा तय गर्न नेट रन रेनले भूमिका खेल्न सक्ने स्थितिमा श्रीलंकाले यो प्रभावशाली जित हात पारेको हो ।
नामिबियाविरुद्धको पहिलो खेल गुमाएर खराव सुरुआत गरेको एसियाली च्याम्पियन श्रीलंकामाथि यो खेल ठूलो अन्तरले जित्नै पर्नेै दवाव थियो । समूह ‘ए’ मा नेदरल्यान्ड्स दुई जितसहित शीर्ष स्थानमा छ भने त्यसपछि नामिबिया र श्रीलंका एक/एक जितको स्थितिमा रहेका छन् । यूएईको भने यो लगातार दोस्रो हार हो र उसको अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
जितका लागि १ सय ५३ रन पछ्याएको यूएई १७।१ ओभरमा ७३ रन बनाएर अलआउट भएको हो । उसका लागि सातौं क्रमका ब्याट्र आयन अजफल खानले बनाएको १९ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । श्रीलंकाली बलरमध्ये डसुशमन्थ चमेरा र वानिन्दु हसरंगाले तीन तीन विकेट लिए ।
त्यस अगाडि टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको श्रीलंकाले आठ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान पथुम निकान्काले ६० बलमा ७४ रन बनाए । उनले छ चौका र दुई छक्का प्रहार गरे । एक समय १ सय १३ रनमा तीन विकेट मात्र गुमाएको श्रीलंकाले त्यसपछि लगातार पाँच विकेट गुमाएको थियो ।
यूएईका लागि कार्तिक मयपेने ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरे । उनले चारमा ओभरमा १९ रन मात्र खर्चेर तीन विकेट लिएका हुन् । ट्वान्टी ट्वान्टी विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने उनी पाँचौं बलर बनेका छन् । यूएईका लागि जहुर खानले पनि उत्कृष्ट बलिङ गर्दै २६ रनमा दुई विकेट हात पारे ।








