गृहपृष्ठ Featured लुम्बिनीको मायादेवी मन्दिरमा २७ लाख भेटी संकलन

लुम्बिनीको मायादेवी मन्दिरमा २७ लाख भेटी संकलन

प्रकाशित मिति:

लुम्बिनी ।

लुम्बिनीस्थित मायादेवी मन्दिरमा ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटी संकलन भएको छ । मायादेवी मन्दिर र अशोक स्तम्भमा रहेको दानपेटी बाकसमा उक्त रकम संकलन भएको हो ।

चालु आव २०७९/८० को साउनदेखि असोजसम्म ३ महिनाको संकलित रकम आइतबार र सोमबार गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए । उक्त रकम मायादेवी मन्दिरमा आउने आन्तरिक र बाह्य पर्यटकले दान गरेका हुन् ।

गणनालाई पारदर्शी बनाउन सीसी क्यामरा प्रयोग गरिएको थियो । पहिलो दिन ९ बजेदेखि साँझ ५ बजेसम्म २४ जनाले गणना गर्दा १० लाख ८१ हजार र दोस्रो दिन १६ लाख ३६ हजार गरी २७ लाख १८ हजार रुपैयाँ भेटी गणना भएको कोषाध्यक्ष भट्टराईले बताए ।

लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ । यसअघि चैत १९ देखि असार २१ गतेसम्म ३ महिनामा २२ लाख ९७ हजार भेटी संकलन भएको थियो । कोषाध्यक्ष भट्टराईको नेतृत्वमा कोष कर्मचारी, प्रहरी, सशस्त्र, सुरक्षा गार्ड र अन्य सरोकारवालाको उपस्थितिमा दानपेटी खोलिएको हो ।

नेपाली, भारु र अमेरिकी डलर गणना गरेर बैंकमा जम्मा गरिएको छ भने नेपालमा सटही सुविधा नभएका देशका नोट र खुद्रा रकम छुट्याएर राखिएको छ । लुम्बिनी विकास कोषमा बजेट अभाव हुन थालेपछि दानपेटी छिटोछिटो गणना गर्न थालिएको छ ।

सम्बन्धित् समाचार