बालोन डी’अर अवार्ड विजेता करिम बेन्जेमाले गोल गरेको खेलमा रियाल मड्रिडले बुधबार राति इल्चेलाई ३–० ले हराएको छ । यससँगै रियालले शीर्ष स्थानमा ६ अंकको अग्रता लिन सफल भएको छ ।
बेन्जेमाको पहिलो दुई गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता दिएन । अन्ततः ७५औं मिनेटमा बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियालको अग्रता दोब्बर बनाए । त्यसअघि रियालले ११औं मिनेटमा फेडरिको भाल्भार्डेको गोलबाट अग्रता लिएको थियो । बेन्जेमाले छैटौं र ६१औं मिनेटमा मिनेटमा गरेको गोललाई भीएआरले अफसाइड घोषित गरिदिएको थियो । २६औं मिनेटमा डेबिड अलाबाले गरेको गोललाई पनि भीएआरले अफसाइड घोषित गरिदिएको थियो ।
खेल सकिन एक मिनेट बाँकी हुँदा रोड्रिगोकै पासमा बैकल्पिक खेलाडी मार्को असेन्सियोले अर्को गोल थपेपछि रियालले ३–० को सहज जित निकाल्यो ।
आइतबार एल क्लासिकोमा ३–१ को विजय हासिल गरेपछि रियालले खेलअघि शीर्ष स्थानमा बार्सिलोनालाई तीन अंकले पछि पारेको थियो । इल्चेविरुद्धको जितपछि रियालले दोस्रो स्थानको बार्सिलोनालाई ६ अंकले पछाडि पारेको छ । तथापि, बार्सिलोनाले एक खेल कम खेलेको छ ।