आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावे सुपर १२ मा प्रवेश गरेकाे छ । आज शुक्रवार भएकाे खेलमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश गरेकाे हाे ।
स्कटल्यान्डले दिएकाे एक सय ३३ रनकाे लक्ष्य जिम्बावेले पाँच विकेट गुमाएर नाै बलअघि नै भेटायाे । उसका कप्तान क्रेग अर्भाइनले ५८ र सिकन्दर राजाले ४० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका जाेश डेभेले दुई विकेट लिए ।
यसअघि हाेबार्टमा टस जितेर ब्याटिङ गरेकाे स्कटल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३२ रन बनायाे । उसका जर्ज मुन्सेले ५४ रन बनाए । बलिङतर्फ जिम्बावेका तेन्दाई चतरा र रिचार्ड एनगाराभाराले दुई–दुई विकेट लिए ।
योसँगै सुपर १२ मा पुग्ने चार वटै टोलीको टुङ्गो लागेको छ । जिम्बावे समूह ‘बी’ काे विजेता बन्दै सुपर १२ मा प्रवेश गरेकाे हाे । आजै भएकाे पहिलाे खेलमा आयरल्यान्ड यही समूहबाट उपविजेता बन्दै सुपर १२ मा पुगेकाे छ ।
यस्तै समूह ‘ए’ बाट श्रीलङ्का विजेता र नेदरल्यान्ड्स उपविजेता बन्दै सुपर १२ मा पुगेका छन् । सुपर १२ को खेल भाेलि शनिवारदेखि सुरु हुँदैछ ।








