काठमाडौं ।
२ जेठ २०७९देखि व्यावसायिक रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन घाटामा छ । हप्तामा तीन वटा उडान भइरहेपनि काठमाडौंबाट हुने आकस्मिक अवतरणका लागि भन्दै २४ घण्टा नै खुला राखिएको विमानस्थलको सुरक्षा सम्बद्ध आधुनिक उपकरण भने सञ्चालनमा छैनन् ।
विमानस्थलमा झण्डै एक अर्ब खर्चेर इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ । विमानस्थलमा कमजोर भिजिबिलीटी हुँदा पनि उडान-अवतरण गर्न सकियोस् भनेर आईएलएस जडान गरिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरवाही र भारतीय पक्षको बेवास्ताका कारण आईएलएस भारत सरकारको अनुमतिबिना प्रयोग हुन नसक्ने अवस्था आएको छ ।
गौतमबुद्ध विमानस्थलमा जडान गरिएको आईएलएसले खराब भिजिबिलिटीमा पनि रेडियो संकेतमार्फत अवतरणमा चालकदललाई ‘गाइड गर्छ । क्याटेगोरी अनुसार प्रणालीको कार्यदक्षता फरक छन् । प्राधिकरणले सुरुमा आईएलएसको क्याटेगोरी-१ (पुरानो) को उपकरण जोड्ने गरी डिजाइन गरेको थियो, जसको फ्रिक्वेन्सी नेपाली भूमिभित्र रहने निश्चित गरिएको थियो ।
तर, निर्माणका क्रममा आईएलएसको क्याटेगारी-२ (मध्यम दक्षताको) करिब ५० करोडभन्दा बढीका उपकरणहरु जोडिए । प्राधिकरणले क्याटेगारी-२ को मापदण्डअनुसार नै विमानस्थलको रन-वेमा लाइटिङ सिस्टमको पूर्वाधारमा थप करिब २५ करोड खर्च गरेको छ ।
यो उपकरणको रेडियो डेटा (फ्रिक्वेन्सी) प्रवाह हुने एंगल र कभरेज एरियाको केही भाग भारतीय भूभागमा पनि पर्यो । अब आईएलएस सञ्चालनको प्रोसिड्योरलाई नेपालसँगै भारत सरकारले पनि स्वीकृत गर्नुपर्छ । आईएलएस प्रयोगको अनुमति माग्दै नेपाल सरकारले ५ महिना अगाडि नै पत्रचार गरेको छ, तर भारतले कुनै जवाफ दिएको छैन । यदि भारतले प्रोसिड्योर स्वीकृत नगरेमा आईएलएसको प्रोसिड्योर अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ)बाट स्वीकृत हुँदैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी भने स्वीकृत स्पेसिफिकेसन अनुसार नै उपकरण जडान गरिएको दाबी गर्छन् । ‘त्यो उपकरणले निश्चित एंगलमा फ्रिक्वेन्सी रेडिगेट गर्छ,’ उनले भने, ‘त्यो फि्रक्वेसीले ओगट्ने क्षेत्र केही भारतीय भूभागसम्म गरेकाले समस्या भएको हो ।’
विश्वका धेरै साना देशले संयुक्त ‘एयर स्पेस’ प्रयोग गरेको भन्दै उनले मलेसिया र सिंगापुरको उदाहरण दिए । ‘यो नौलो विषय होइन, तर यो समस्यालाई कूटनीतिक तबरबाटै समाधान गर्नुपर्छ,’ उनले भने, ‘विभिन्न चरणमा र फोरमहरुमा अनुरोध भएको छ, के प्रगति भयो भन्नेबारे आयोजनालाई जानकारी छैन ।’