काठमाडौं । रोबर्ट लेवानडोवस्कीले इन्ज्युरी समयमा गरेको गोलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि १–० को संघर्षपूर्ण विजय हासिल गरेको छ ।
बुधबार राति जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको थियो । बार्सिलोना लगातार दोस्रोपटक च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको हो ।
गए राति पनि बार्सिलोना बराबरीमा रोकिने सम्भावना बढेको थियो । तर, ६ मिनेट इन्ज्युरी समयको तेस्रो मिनेटमा लेवानडोवस्कीले गोल गरेपछि बार्सिलोना तीन अंक जोड्न सफल भयो ।
यसै सिजनको सुरुमा बायर्नबाट बार्सिलोना आएका लेवानडोवस्कीले लिगमा १३ गोल गरिसकेका छन् । धेरै गोल गर्नेमा लेवानडोवस्की शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रहनेको सात गोल छ । ३४ वर्षीय फरवार्ड लेवानडोस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी १७ गोल गरिसकेका छन् ।
जितसँगै १२ खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । त्यो दोस्रो स्थानको रियाल मड्रिडसँग बराबरी अंक हो । गोलअन्तरमा बार्सिलोना अगाडि भएको हो । बार्सिलोनाले एक खेल बढी खेलेको छ । पराजित भ्यालेन्सिया १५ अंकका साथ दशौँ स्थानमा छ ।








