नेकपा माओवादी केन्द्रले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव गरेको छ।
सोमबार आसन्न प्रनिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै संघ तथा प्रदेशको नेतृत्व प्रत्यक्ष निर्वाचित कार्यकारीबाट हुनुपर्ने प्रस्ताव गरेको हो।
माओवादीले राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा तय गर्न संसदीय शासकीय स्वरूप अक्षम रहेको बताएको छ।
प्रतिबद्धतापत्रमा भनिएको छ, ‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ। संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ। प्रदेशमा पनि सङ्घमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ।’








