काठमाडौं ।
आईसीसी ट्वान्टी–२० विश्वकपमा शुक्रबार न्युजिल्यान्डविरुद्ध आयरल्यान्डका जस लिटलले ह्याट्रिक लिएका छन् ।
अस्ट्रेलियाको एड्लेइड ओभलमा टस हारेपछि ब्याटिङमा आएको न्युजिल्यान्डविरुद्ध १९औँ ओभर बलिङका लागि आएका लिटलले ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए ।
उनले १९औँ ओभरको दोस्रो बलमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनलाई ग्यारेथ डेलनीमार्फत क्याच आउट गराए । तेस्रो बलमा न्युजिल्यान्डका जेम्स निसमलाई एलबीडब्ल्यूको धरापमा पार्दा चौथो बलमा मिचेल स्यान्टनरलाई पनि एलबीडब्ल्यूको सिकार बनाए ।
जारी विश्वकपको यो दोस्रो ह्याट्रिक हो । यसअघि विश्वकपको पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) का कार्थिक मयप्पनले श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए ।








