गृहपृष्ठ Featured प्रधानमन्त्री कप : प्रदेश १ लुम्बिनीसँग ३९ रनले पराजित

प्रधानमन्त्री कप : प्रदेश १ लुम्बिनीसँग ३९ रनले पराजित

कप्तान देव खनालको अर्धशतकप्रेरित लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई ३९ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरभा आठ विकेट गुमाएर दुई सय ९० रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा दुई सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय ५१ रन मात्रै बनाउन सक्यो।

प्रदेश १ का लागि अंकित सुवेदीले ४८ बलमा १० चौकासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, अर्का ओपनर निरज मुखियाले ३७ बलमा १० चौकासहित ४६ रन बनाएका थिए।

यस्तै, कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्कासहित ७४ रनको शानदार इनिङ खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन्।

लुम्बिनीका लागि दुर्गेश गुप्ता, बासिर अहमद र कप्तान देवले दुई-दुई विकेट लिए।

पहिलो इनिङमा लुम्बिनीका लागि कप्तान देवले ९८ बलमा ११ चौकासहित ८९ रनको शानदार इनिङ खेलेका थिए। यस्तै, आकाश त्रिपाठीले ४८ तथा सन्दीप रजालीले ४४ रन जोडेका थिए।

विशाल विक्रम केसी ३२ तथा पूर्वकप्तान कृष्ण कार्की ३१ रन बनाएर पेभेलियन फर्किँदा लुम्बिनीले ठूलो लक्ष्य तयार गरेको थियो।

प्रदेश १ का लागि बलिङतर्फ दीपक जोशीले सर्वाधिक चार, सार्वन यादवले दुई र लभ कामतले एक-एक विकेट लिएका थिए।

सम्बन्धित् समाचार