नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ ।
१३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभिएका दुई वटा, २२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।
टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणधीन प्रसारण तथा वितरण लाइनका आयोजनाहरूको प्रगति, आगामी दिनमा नवलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ ।