पाल्पा ।
पाल्पाको सत्यवती तालमा लाग्ने मेलामा यस वर्ष भने घुँइचो लागेको छ । सत्यवती ताल मन्दिर व्यवस्थापन समितिका अनुसार बिहीबारदेखि मेला सुरु भएको हो । यहाँ लाग्ने मेलालाई नेपालमै अनौठो मानिन्छ ।
कोभिड र जोग नपर्दा (कात्तिकमा कात्तिके पूर्णिमा पर्दा जोग परेको भनिन्छ) विगतका तीन वर्ष मेला हुन सकेको थिएन । समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार यसअघि तीन दिन लाग्दै आएको मेला यसवर्ष भने जोग परेकाले पाँच दिन लगाइएको हो ।
तिनाउ गाउँपालिका–४, लगाड कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा कान कम सुन्ने बज्यै भएको र चिच्चाएर वर माग्दा पुग्ने जनविश्वास छ । त्यही जनविश्वासअनुसार नै हजारौँ श्रद्धालु मेला भर्न आएका छन् । दिउँसोमा भन्दा बढी भीड रातिमा लागेको छ ।
सत्यवती तालको वरपरको भागमा बाँसको लिंगो लिएर चिच्याउँदै वर माग्ने गरिन्छ । सत्यवती तालको वरपर लिंगो गाडेर त्यसैमा पूजा गर्ने चलन रहेको पुजारी सुनवीर गाहाले बताए । पछिल्ला दिनमा बाजे बज्यैको मन्दिरसमेत निर्माण भएको छ । सोही मन्दिरमा पूजा गर्ने, बलि चढाउने गर्छन् । पहिला सवारी साधन सुविधा थिएन । मन्दिर वरपरको भाग व्यवस्थित थिएन ।
अहिले धेरै काम भएका छन् । कतिपय काम गुरुयोजना बने पनि अपूरा र अधुरा छन् । यहाँ पहिलादेखि नै दिउँमाभन्दा रातिको समयमा बढी भीड लाग्ने गरेको पुजारी गाहाले बताए । ‘सयौं युवा स्वयंसेवकका रूपमा परिचालन गर्नु परेको छ,’ उनले भने, ‘दुई वर्ष मेला नलाग्दा यसवर्ष भीड नै भयो ।’








