निर्वाचनको मिति जतिजति नजिकिँदै छ, प्युठानमा निर्वाचन उतिउति रोचक बन्दै गएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा सत्तागठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल आफ्नो विरासत जोगाउने दाउमा छिन् । उनको विरासत भत्काएरै छाड्ने कसरत गरिरहेका छन् एमालेका सूर्य थापा । थापाको संसदीय अभ्यास यो पहिलो हो । दुईपटक संसदको स्वाद चाखिसकेकी पौडेल तेस्रोपटक सांसद बन्न खोज्दै छिन् ।
ठाडो बोली र कठोर शब्दका एमालेका उम्मेदवार थापा वेला–वेला विवादमा तानिन्छन् र चर्चामा आइरहन्छन् । आलोचकले उनलाई छुद्र स्वभावको व्यक्ति भनेर खिसीट्युरी गर्छन् । मन पराउनेले थापालाई मन सफा भएको हक्की र निडर स्वभाव भएका कर्मठ योद्धाको रूपमा चित्रण गर्छन् । तर, उनी आलोचकको आरोपमा सहमत छैनन् । ‘मेरा आलोचकले मलाई छुच्चो भन्छन् । छुद्र भनेर चित्रण गर्ने प्रयास गर्छन् । मेरो बोली र व्यवहार कतिपयलाई मन नपर्न सक्छ । तर, यसमा कुनै सत्यता छैन । म जे बोल्छु यथार्थ र सत्य बोल्छु र लेख्छु,’ उनले भने, ‘खरो बोल्ने, स्पष्ट बोल्ने व्यक्तिको मन सफा हुन्छ । हो, त्यस्तै मेरो बोली खरो छ, तर मन सफा र सहयोगी छ ।’
कुनै वेला जनमोर्चाको पकड क्षेत्र मानिने प्युठानमा पछिल्लो समय जनमोर्चा कमजोर बन्दै गएको छ । स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा प्युठानमा जनमोर्चा चौथो स्थानमा छ । तर, सत्तागठबन्धन दलको मत एमालेको भन्दा बढी छ । जिल्लामा पालिका प्रमुखको मतपरिणामअनुसार गठबन्धनको ४८ हजार एक सय ७१ र एमालेको ३९ हजार एक सय २८ मत छ । यो आधारमा एमाले प्युठानमा नौ हजार ४३ मतले पछि छ ।
जिल्लाको २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ । १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार सात सय ४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार आठ सय ५४ मत प्राप्त गरेको छ । त्यसैगरी दुईवटा वडा जितेको विप्लव समूहले एक हजार चार सय १७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले एक हजार तीन सय २२ मत प्राप्त गरेको छ ।







